नेपाल आयल निगमले आइतबार रातीदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ५ रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
भाउ बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटरको १ सय ६४ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य लिटरको १ सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १ सय ६६ रुपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको १ सय ५६ रुपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ लिटरको १ सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेल भाउ लिटरको १ सय ५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।