कैलाली जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले लागूऔषधसहित ९ जना पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ ब्यरेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरीलाई ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो । चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी कैलारी गाउँपालिका–७ कटानी पुल नजिकबाट सोही गाउँपालिका–२ बस्ने २० वर्षीय अविनाश चौधरीले चलाएको से ७ प २४०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अविनाश र मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने २० वर्षीया दिनेश चौधरीको साथबाट ४१० मिलिग्राम खैरा हेरोइन फेला पारी मोटरसाईकलसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने ३८ वर्षीय दिपक भट्ट ओनरेक्स नामक १५ बोतल लागूऔषधसहित पक्राउ परेका हुन् । भट्टलाई वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागू औषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सोही ठाउँ बस्ने २३ वर्षीय दिपलाल रानासहित ४ जनालाई ११० मिलिग्राम लागूऔषधसहित लिएको बताएको छ ।



