चितवनः चितवनमा केही दिनअघि आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति पु¥याएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।
पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको घिमिरेले जानकारी दिएका छन् । ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘४० लाख ८७ हजार ५ सय केरामा क्षति पुगेको छ ।’ उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।
संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण १२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ७० किसानको केरा पूर्णरूपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले बताए ।
बिमा गरेका किसानले क्षति भए बापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए । जिल्लामा हाल ३ हजार ५ सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । यहाँ ७ सय किसानले केरा खेती गरेका छन् । रासस




