कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा डस्टबिनका रूपमा डोकोको प्रयोग हुन थालेको छ । जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले वातावरण मैत्री संरचना राख्ने उदेद्दयले डस्टबिनको रूपमा डोकाको प्रयोग गर्न थालेको हो।यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको क्याम्पस सहायक प्रमुख चेतराज विनाडीले जानकारी दिए । पछिल्लो समय सहर बजारमा, गाउँ घरमा अत्यधिक रूपमा प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ हुने उनको भनाई छ ।

स्थानीय स्तरमा उत्पादित बस्तुलाई हामी सबैले महत्त्व दिनुपर्ने बताउँदै स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा क्याम्पस क्षेत्रको सरसफाइमा सहयोग पुग्नुका साथै स्थानीय स्रोत साधनले बजार पाउने र रोजगारी समेत बढ्ने विनाडीको भनाई छ ।



