सुर्खेत: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनी प्रदेश सभा समक्ष प्रस्ताव पेस गरेका थिए ।
४० सदस्यीय प्रदेश सभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित भएका थिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे ।
एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका थिए । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा अनुपस्थित भएका थिए ।
कांग्रेसका १३ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाहीले मतदानमा सहभागी नहुने बताइन् । उनले सत्ता अदलबदलको खेलमा राप्रपा नलाग्ने भएकाले तटस्थ बस्ने बताइन् ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेश सभा सदस्यहरूको सङ्ख्या सभामुखसहित ३९ रहेको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।