बझाङ: यही बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङकाे मतदान स्थलमा सुरक्षाकर्मीसहित कर्मचारी त्यहाँ स्थलमा पुगेका छन। जिल्ला निर्वाचन कार्यालय, बझाङका अनुसार ४ सय ६५ कर्मचारीहरू सुरक्षाकर्मीसहित मतदान स्थलमा पुगेका हुन्।
बुधवारदेखि मौन अवधि सुरु भएसँगै कर्मचारीहरू मतदान स्थलहरूमा छन्। १५ गतेका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू निर्वाचन खर्च र सामग्रीसहित मतदान केन्द्र र मतदान स्थलहरूमा छन्।
जिल्लामा १ हजार २ सयको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनको समयमा सुरक्षा दिनेछन्। उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
जिल्लामा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन्। एक मतदान केन्द्रमा पाँच जना कर्मचारी हुनेछन्। उनीहरूले मतदान गराउनेछन्।
जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले शनिवार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएसँगै सबै केन्द्रमा कर्मचारी पुगेको बताए। जिल्लामा ६१ हजार ७ सय ४८ मतदाता रहेका छन्। ११ जना प्रदेश सभा सदस्यका उम्मेदवार छन्। शनिवार बिहान ७ देखि साँझ ५ बजेसम्म जिल्लामा मतदान हुने छ।