समाचार सारांश
- • आफूलाई जेनजी बताउनेहरूले तोडफोड गरेको कार्यालय सरसफाइमा युवाहरू जुटेका छन् ।
- • आफूलाई जेनजी बताउनेहरूले कार्यालय बाहिर सामान्य तोडफोड गरे पनि आगजनी भने गरेनन् जसका कारण ठुलो क्षति हुनबाट बचेको छ ।
- • कार्यालयको तोडफोड आफूहरूले नभई जेनजीको नाम लिँदै केही अराजक र परिचालित व्यक्तिहरूले गरेको स्वयम जेनजी आन्दोलनका सहभागीहरू बताउछन्।
- • सोही दिन साँझ करिब ७ बजे ५/७ वटा मोटरसाइकलमा आएको युवाहरूको टोलीले गेटको ताला तोडेर भित्र पसि तोडफोड गरेको प्रत्यक्षदर्शी बत्ताउँछन् ।
गत २४ गते मङ्गलवार आफूलाई जेनजी बताउनेहरूले तोडफोड गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यालय सरसफाइमा बर्दगोरियाका युवाहरू जुटेका छन् । उनीहरूले शुक्रवार गाउँपालिकाको कार्यालयमा सरसफाइ गरेको हुन । उनीहरूले सिसा, जलाइएका टायर, फुटाइएका सिसिटिभी क्यामेरा र एसीहरूको व्यवस्थापन गरेका छन् । आफूलाई जेनजी बताउनेहरूले कार्यालय बाहिर सामान्य तोडफोड गरे पनि आगजनी भने गरेनन् जसका कारण ठुलो क्षति हुनबाट बचेको छ । जेनजी नभई आफूलाई जेनजी समूहको बताउने केही अराजक व्यक्तिहरूले सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै कारबाही माग समेत युवाहरूले गरेका छन् ।
तोडफोडबाट कार्यालयका २७ वटा झ्यालका सिसा नष्ट भएका छन् भने ३ वटा सिसिटिभी क्यामेरा, २ वटा एसी, शव वाहनको सिसा र कार्यालयमा रहेको शिलालेख समेत तोडफोड गरिएको छ । पालिका सँगै सो समूहले हरेक वडा कार्यालयमा पुगेर झ्यालको सिसा, सिसिटिभी, एसी लगायतमा क्षति गरेको छ । कार्यालयको तोडफोड आफूहरूले नभई जेनजीको नाम लिँदै केही अराजक र परिचालित व्यक्तिहरूले गरेको स्वयम जेनजी आन्दोलनका सहभागीहरू बताउछन् ।

गत २४ गते बिहान ११ बजे बौनिया बजारबाट सुरु गरिएको जेनजी आन्दोलन गाउँपालिकाको गेटमा पुगेर करिब २/३ घण्टा नाराबाजी र प्रदर्शन गरेको थियो । तत्पश्चात् कार्यालयमा कुनै क्षति नगरी जेनजीहरु नाराबाजी गर्दै पुनः बौनिया बजार फर्किएका थिए । यसलाई आधार मान्य हो भने बर्दगोरियामा जेनजीहरुले कुनै खालको क्षति गरेनन् । तर सोही दिन साँझ करिब ७ बजे ५/७ वटा मोटरसाइकलमा आएको युवाहरूको टोलीले गेटको ताला तोडेर भित्र पसि तोडफोड गरेको प्रत्यक्षदर्शी बत्ताउँछन् । यो हरकतलाई जेनजी आन्दोलक सँग जोड्न नमिल्ने युवाहरूको भनाई छ । प्रत्यक्षदर्शी तथा कार्यालयमा रहेको सिसिटिभीका आधारमा व्यक्तिहरू पहिचान गरी कारबाही गर्नु पर्ने माग बढेको छ । तर यस बारेमा गाउँपालिका भने केही बोलेको छैन । तर श्रोतले भने अहिले व्यक्ती पहिचान गर्ने काम भइरहेको जनाएको छ ।



