सरकारले बैशाख ६ र ७ गते (आज र भोलि) ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ देखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।
उनले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताए । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
उनले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए ।
पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने बताए । “भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्नेछन,” उनले भने, “यदि, खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अनुरोध गर्छन् ।”
सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ