सुखड: ओमानमा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दै छ । आज साउदीलाई पराजित गर्दै प्रिमियर कपमा अपराजित यात्रा कायम गर्ने दाउमा नेपाल रहेको छ ।
समूह चरणमा हालसम्म खेलेका तीन खेलमा तिनै खेलमा जित हात पारेको नेपाल यस अघि नै एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरी सकेको छ । आजको खेलमा पनि जित हात पार्दै समूह विजेता बन्दै अपराजित यात्रा कायम गर्ने लक्ष्य नेपालको छ । तर साउदी अरेबिया पनि समूह चरणको खेलमा बलियो टोली हङकङलाई पराजित गर्दै नेपालमाथि पनि जित हात पार्ने दाउमा रहेको छ ।
उसले तीन खेलमा एक मात्रै जित हात पारेको छ । यस समूहमा नेपाल मात्रै एक अपराजित टोली हो । बाँकी कतार चार खेल खेल्दै दुईमा जित र दुईमा हार बेहोर्दै दोस्रो स्थानमा छ । बाँकी साउदी, मलेसिया र हङकङ समान तीन खेलमा एक मात्रै खेलमा जित हात पार्दै क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा मलेसिया माथि ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा कतार ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ ८ विकेटले पराजित भएको थियो ।
अर्को समूहबाट ओमान अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । उसले अब अन्तिम खेल खेल्न बाँकी छ । यस्तै कुवेत र यूएई भने दुई खेलमा जित हात पार्दै क्रमशः दोस्रो र तेस्रो स्थान रहेका छन् ।
अब सेमिफाइनलमा एउटा समूहको विजेता र अर्को समूहको उपविजेता खेल्ने छन् । सेमिफाइनलमा विकेट दुई टोली फाइनल प्रवेश गर्ने छन् । फाइनल विजेता टोली एसिया कपमा छनोट हुने छ ।