टीकापुर : कैलाली जिल्लाको टीकापुरमा रहेको टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्ष लागेसँगै पर्यटकको आगमन तिब्र रुपमा बढेको छ। पार्कमा नयाँ वर्षको पहिलो दिन शनिवार १२ हजार बढी पर्यटक भित्रिएका छन्। जसबाट एकै दिन टिकट शुल्कबाट तीन लाख राजस्व सङ्कलन जम्मा भएको छ।
उद्यानमा आउनेहरू अधिकांश पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा र्याप्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इञ्चार्ज अर्जुन कुँवरले जनाएका छन्। यस वर्षको पहिलो दिन १ गते नदीमा रमाउनेहरू पालो कुरेर बसेका थिए।
वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्ने लगायत मनोरञ्जनात्मक क्रियाकलाप समेत गरेका बताए।
सुन्दर, शान्त र हराभरा रहेको उक्त पार्क पुग्ने सबैले आनन्द र रमाइलो महसुस गर्ने भएकाले पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ। पार्क हेर्नका लागी सुर्खेत,कञ्चनपुर तथा कैलालीका विभिन्न ठाउँबाट दर्शक आउने गरेका छन् ।