रुपन्देही : बुधबार मध्यान्न कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं २ भैसकुन्डामा कम्पाइन मेसिन र गहुँ खेतमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
स्थानीय लहेब खाँको गहुँ खेतमा कम्बाइन मेसिनले गहुँ स्याहार्ने क्रममा आगलागी भएको जनाईएको छ ।
कम्बाइन मेसिनले गहुँ स्याहार्दै गर्दा अचानक आफैँ आगलागी सुरु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिएका छन् । आगलागीबाट लु २ त ८८५६ नम्बरको कम्बाइन जलेर पूर्णरुपमा नष्ट भएको बताइएकाे छ ।
उक्त कम्बाइन मेसिन स्थानीय मुस्ताक अहमद्को रहेको थियो । आगलागीबाट ३ बिघा खेतमा लगाइएको काट्ने तयारी अवस्थामा रहेको गहुँ नष्ट हुँदा झण्डै चार लाखको क्षति भएको अनुमान गरिएको ओलीले जनाए ।
सो आगलागी कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयबासीको प्रयासमा नियन्त्रणमा लिइएको थियो ।
एक सातायता जिल्लाका दर्जनौं स्थानमा काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी हुँदा लाखौ रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।