कैलाली जिल्लाको जानकी गाउँपालिका-२, मा मकै खेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकै खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषियन्त्र वितरण गरिएको हो।
किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिएका हुन् । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूहले कालिकापुरमा २९ हेक्टर जमिनमा मकै खेती गरिएको छ।
मकै खेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ। किसानलाई मकै खेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए।
उनले भने, ‘किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो ।, सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ।’ कालिकापुरमा एक सय १९ किसानले अहिले व्यावसायिक मकै खेती गर्दै आएका छन्।
मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकै खेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए। ‘समूहमार्फत खेती गर्दा सहज भएको छ। समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन्’, उनले भने ।