आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले इलाम २ मा जिल्ला सभापति डम्बर खड्का र बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

बिहिबार पार्टी सभापति शेरबहादुर देउवाकाे निजी निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्का र सिंहलाई सिफारिस गरेको जनाएको छ ।
कांग्रेसले इलाम २ मा उम्मेदवार बनाउन लागेका खड्का यसअघिको प्रतिनिधिसभा निर्वाचनमा स्वर्गिय सुवास चन्द्र नेम्वाङसँग पराजित भएका थिए । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतको गठबन्धनका साझा उम्मेदवार बनेका खड्का नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए ।
त्यस्तै बझाङमा उम्मेदवार बन्न लागेका सिंह नेपाली कांग्रेसका स्वर्गिय सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । कांग्रेसले जिल्ला कार्यसमितिलाई उम्मेदवारको लागि ३ जनाको नाम सिफारिस गर्न भने पनि समितिले १० जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका मध्ये सिंहलाई उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाले जोडबल गरेपछि उनी सिफारिस भएका हुन् ।



