सुदूरपश्चिम प्रदेशमा ठेक्का लिएर समयमा काम नगर्ने तीनवटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सार्वजनिक गरेको सूचीमा सुदूरपश्चिमा काम नगर्ने तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालो सूचीमा राखेको छ ।
कालो सूचीमा पर्नेमा दिपायलको आई.एस.कन्स्ट्रक्सन प्रालिलाई सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा कार्यालयले तीन वर्षका लागि कालो सूचीमा राखेको छ । ती कम्पनीका मुख्य व्यक्ति छत्रबहादुर कठायत हुन् ।
त्यसैगरी सडक डिभिजन कार्यालय अछाम साँफेबगरको सिफारिसमा एकेएस कन्स्ट्रक्सन भरतपुर चितवनलाई एक वर्ष तीन महिनाका लागि कालो सूचीमा राखिएको छ । सो कम्पनीका मुख्य व्यक्ति कुमार विक्रम शाह रहेका छन् ।
सडक डिभिजन कार्यालय अछामकै सिफारिसमा पञ्चपुरी कन्स्ट्रक्सनलाई पनि कालो सूचीमा राखिएको सूचनामा उल्लेख गरेको छ । सो कम्पनीलाई एक वर्ष तीन महिनाका लागि कालो सूचीमा राखिएको जनाइएको छ । कम्पनीका मुख्य व्यक्ति कुस्माकुमारी आचार्य (अधिकारी) हुन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सुदूरपश्चिममा तीनसहित विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको हो ।