
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्धको दुई खेलको टी२० सिरिज क्लिन स्विप गरेको छ ।

आज टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले ७१ रनको फराकिलो जित दर्ता गर्दै सिरिजमा कब्जा गरेको हो ।
घरेलु टोलीले प्रस्तुत गरेको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वल्भ्स १९ औं ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २७ रनमा समेटिन पुग्यो ।
मंगलबार भएको खेलमा आयरल्याण्डका लागि ओपनर स्टेफन डोहेनिले आक्रामक सुरुवात दिलाएका थिए । पाँचौ ओभरमा आयरल्यान्ड ४३-० को स्थितिमा रहँदा आउट हुनुअघि उनले १३ बलमा ४ चौका र १ छक्कासहित २६ रन जोडे । सोमपाल कामीले सुरुवाती विकेट लिए लगत्तै अर्को ओभरमा कुशल मल्लले रस अडेरलाई गुलसनको हातबाट क्याच आउट गराए ।
त्यसपछि आयरल्याण्डले रन जोड्न सङ्घर्ष गर्यो । १२ औं ओभरमा केड कारमाइकल १८ रन जोड्दै कुशल भुर्तेलको शिकार बने । कप्तान निल रक १७ र जोड्दै करणको बलमा क्याच आउट भए ।
समस्यामा परेको आयरल्याण्डले लगातार ३ विकेट गुमाउँदा जितबाट टाढा पुग्यो । मोर्गन टपिंग २१ रनमा स्टम्पिङ आउट भए । ग्याभिन होए १ र फिओन ह्यान्ड ५ रनमा पेभेलियन फर्किए ।
१९ औं ओभरमा नेपालले लगातार ३ विकेट लिँदै आयरल्याण्डलाई अलआउट गर्यो । पहिलो बलमा सोमपालले लियाम मकार्थीलाई बोल्ड गरे । त्यसपछि बेन ह्वाइटले पहिलो बलमै सोमपाललाई क्याच फिर्ता दिए । तेस्रो बलमा रोहितले ग्यारेथ डेलनीलाई नन स्ट्राइक एन्डमा रनआउट गरे ।
नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए । विवेक यादव, कुशल भुर्तेल र करण केसीले १/१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रनको आँकडा तयारी गर्यो । नेपालका लागि गुलसन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा पार गरेका थिए ।
ओपनर आसिफ शेख तेस्रो ओभरमा म्याथ्यु फोस्टरको बलमा आउट भए । ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेका उनी विकेट किपरको हातबाट समातिन पुगे ।
पाँचौ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि पेभेलियन फर्किए । फोस्टरकै बलिङमा कुशल मिड विकेटमा सहजै क्याच थमाउन पुगे । उनले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन जोडे ।
सातौँ ओभरमा अनिल शाह १२ रनमा आउट भए । उनी ठूलो सट खेल्ने धुनमा टप एज लाग्दै विकेट किपरको हातबाट समातिए ।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुलसन झाले ७१ रनको साझेदारी गरे । गुलसन १४ औं ओभरमा आउट हुँदा नेपालले १ सय २९ रन जोडेको थियो । ३२ बलमा १ चौका र ४ छक्कासहित ४६ रन प्रहार गरेका उनले सर्ट कभरमा सहजै क्याच दिए ।
कप्तान रोहित पनि १६ औं ओभरमा क्याच आउट नै भए । ग्याभिन होएको बलमा उनी पनि कभर क्षेत्रमा सहज क्याच दिएर पेभेलियन फर्किए । रोहितले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए ।
कुशल मल्ल आक्रामक इनिङ खेल्दै १८ औं ओभरमा क्याच आउट भए । उनले १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे ।
विवेक यादवले ८ बलमा विना कुनै बाउन्ड्री अविजित ७ रन बनाए । सन्दीप जोराले इनिङको अन्तिम बलमा क्याच आउट हुनुअघि २१ रन जोडे । उनले ९ बलमा ४ चौका र १ छक्का जोडे ।
यसअघि पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । जुनमा हुने आईसीसी टी२० विश्वकप अघि नेपालले घरेलु मैदानमा खेलेको यो नै अन्तिम खेल थियो । नेपालले अब भारतमा हुने फ्रेन्डसिप कप र त्यसपछि ओमानमा एसीसी मेन्स प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ ।