
सवारी दुर्घटना न्यूनीकरणको सन्देश दिन कैलालीमा स्लो बाइक कम्पिटिसनको आयोजना गरिएको छ । बास नेपाल कैलाली र उप-शाखा घोडाघोडीको आयोजनामा शनिवार सुखडमा प्रतियोगिता सम्पन्न भएको हो ।
घोडाघोडी उप-शाखाका अध्यक्ष इन्द्रा कुमारी केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख रावतले सवारी दुर्घटना कम गर्ने प्रमुख विकल्प नै सीमित गति भएकाले यो स्लो बाइक कम्पिटिसनले त्यसका लागि महत्त्वपूर्ण सन्देश दिएको बताए ।
“दुर्घटना न्यूनीकरणको एकल जिम्मेवारी ट्राफिक प्रहरीको मात्र हो भन्ने मानसिकता हामीमा छ त्यो गलत हो । चालकले गलत गर्दै जाने र ट्राफिकले कारबाही गर्दै जाने अवस्थाको अन्त्य गर्न जरुरी छ । हामी चालक स्वयं नियममा चल्ने हो भने मात्रै पनि दुर्घटना कम हुन्छ ।” उनले भने ।
प्रतियोगितामा सहभागी १६ जना मध्ये रोशन शाही प्रथम, वीरेन्द्र शाही दोस्रो र गणेश शाही तेस्रो बनेका छन् । उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्


प्रकाशित :- २०८० फाल्गुन २०, गते आईतवार