
कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन हुने भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा फागुन ६ मा भवनको उद्घाटन हुने गाउँपालिकाले जनाएको छ ।
“हामीले गत मङ्सिर १२ गते भव्य रूपमा भवनको उद्घाटन गर्ने गरी तयारी गरेका थियौ । विविध कारणले हुन सकेन । अव फागुन ६ गते पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा भव्य रूपमा भवनको उद्घाटन हुनेछ ।” गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले भने ।
उनले कार्यक्रम सफल पार्न गाउँवासी तथा छिमेकी पालिकाहरूबाट समेत सहभागिताको लागी अनुरोध गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।
६ करोड १७ लाख लागतको ५० कोठे भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो । गाउँपालिका भवनको शिलान्यास निवर्तमान अध्यक्ष बलिराम डगौरा थारुले गरेका थिए । स्थानीय तह स्थापना देखी भाडाको घरमा कार्यालय सञ्चालन गरेको गाउँपालिकाले यति बेला भने आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।


प्रकाशित :- २०८० माघ २९, गते सोमबार