
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको अगुवाइमा अछाममा कुष्ठरोग रोकथामका लागि घरदैलो अभियान थालिएको छ । स्वास्थ्य कार्यालय अछामको समन्वयमा १० वटै पालिकामा सञ्चालित अभियानलाई एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्यूए) ले प्राविधिक सहयोग गरेको छ ।
अभियान अन्तर्गत ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कम्तीमा २ जना मूल बिरामीहरूलाई समेट्ने गरि ३ सय मिटरको सेरोफेरोमा रहेका समुदायका व्यक्तिहरूलाई चेकजाँच गरेर औषधी खुवाउने गरिएको छ। मूल बिरामीको गोपनीयता कायम राखी बिरामीको परिवार, छिमेकी र समुदायका सम्पर्क व्यक्तिहरूलाई रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको जनाइएको छ ।
अभियान अन्तर्गत आइतबार पत्रकार सँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले अछाममा अझै पनि कुष्ठरोगका नयाँ बिरामीहरू पत्ता लागिरहेको बताए । सुरुवाती चरणमै रोग पत्ता लगाइ उपचारको पहुँचमा ल्याउन सके बिरामीको अपाङ्गता हुने जोखिम कम हुने र रोग सर्ने दर पनि घट्ने भएकाले सोही अनुसार अभियान चलेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ठ निरीक्षक दीपेन्द्र जोशीले कुष्ठरोग प्रतिको विभेद नै रोग निवारणको प्रमुख चुनौती भएको बताए । “कुष्ठरोगको कारणले मानिसको मृत्यु त हुँदैन तर यसबाट हुने भेदभावले मानिस दैनिक रूपमा मरिरहेको हुन्छ। कुष्ठरोग प्रतिको भेदभावले बिरामी उपचारको पहुँचमा समयमै नआउने र रोग लुकाएर बस्दा अपाङ्गता हुने जोखिम बढी हुन्छ ।” उनले भने ।
समुदायमा कुष्ठरोग प्रति गलत धारणा र भेदभाव नै ठुलो समस्याका रूपमा रहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्यूए) का कुष्ठरोग सुरपभाईजर मानबहादुर महराले बताए । “मैले फिल्डमा जाँदा बिरामीहरूले भोगेको भेदभाव सुनेको छु र महसुस गरेको छु । यो नै कुष्ठरोग निवारणका लागि मुख्य चुनौती हो। भेदभावको अन्त्य नभएसम्म कुष्ठरोग निवारण गर्न कठिन छ । कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य र उनीहरू प्रति मर्यादित व्यवहारका लागि मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ ।” उनले भने ।
कार्यक्रममा बोल्दै पत्रकार मेनुका ढुङ्गानाले स्वास्थ्यका अन्य मुद्दाहरूको उठान गरिए जस्तै कुष्ठरोगका मुद्दाहरूको उठानमा समेत मिडिया अग्रसर हुनुपर्ने कुरामा जोड दिइन्


प्रकाशित :- २०८० माघ १४, गते आईतवार