३ वर्ष सम्झौता अवधि रहेको आयोजना १५ महिना मै सम्पन्न गर्ने अनक कन्स्ट्रक्सन कम्पनी प्रा.ली. काठमाण्डौलाई सम्मान गरिएको छ । बिहीबार पुल उद्घाटनको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकाले सम्मान गर्दै कदर पत्र समेत प्रदान गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने काँडा खोलामा निर्माण गर्नु पर्ने पुल २०८१ चैत्र १३ गते सम्पन्न गर्ने गरी २०७९ साल असार २९ गते सम्झौता गरेको थियो । तर निर्माण कम्पनीले २०८० पुस महिनामै सम्झौता अवधि भन्दा १५ महिना अघि निर्माण सम्पन्न गरेको छ । ठेक्का सम्झौता गर्ने तर काम समय नसकी म्याद थपेर काम अलपत्र पार्ने निर्माण कम्पनीका बिच अनक कन्स्ट्रक्सनले उदाहरणीय काम गरेको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना सेती लोक मार्ग अन्तर्गत पर्ने भ्याट सहित १२ करोड ४० लाख ५ हजार ९ सय ५० लागतको पुल यो पुल ८५ मिटर लामो छ ।
धेरै काम गरेर नभई चाँडो काम सकेर फाइदामा जाने लक्ष्य आफ्नो भएको कन्स्ट्रक्सनले जनाएको छ । “आयोजनाहरू सम्झौता अवधि भन्दा अघि सक्ने र त्यो समय सम्मको बचेको स्टाफको तलब, बसाई खर्च, मेसिनहरूको भाडालाई हामी फाइदा मानेर काम गर्छौ । हामीले यहाँ १५ महिना अघि सिद्ध्यायौ यही नै हाम्रो नाफा हो ।” अनक कन्स्ट्रक्सन कम्पनी प्रा.ली.काठमाण्डाकौका रामप्रसाद न्यौपानेले भने । उनले अघि थपे,… “मैले १०/१५ वटा पुल निर्माण गरे अहिले सम्म पुल बनाएको अनुभवमा यहाँको जत्ति सहयोग कतै पाएन । काम गर्दा धेरै अवरोध हुने, असहज परिस्थिति सृजना गरिदिने कामहरू हुन्थ्यो तर त्यो यहाँ भएन । तपाईँहरूको सहयोगले पुल चाँडो बनेको हो ।”



प्रकाशित :- २०८० माघ ६, गते शनिबार

