

गोपाल जंग थापा
कमलमणि एजुकेसन एक्सलेन्स अवार्ड युबेश खरेलले प्राप्त गरेका छन । हरेक वर्ष रोटरी क्लब अफ पाटनले प्रदान गर्दै आएको उक्त अवार्ड यसपालि महेन्द्र आदर्श स्कुल इमाडोलमा कक्षा १० मा अध्ययनरत खरेलले पाएका हुन् । क्लबका संस्थापक सदस्य तथा वरिष्ठ साहित्यकार स्वर्गीय कमलमणि दीक्षितको सम्झनामा स्थापनार्थ उक्त अवार्ड सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी एवं कमलमणिका छोरा कनकमणि दीक्षितले नगद ३० हजार रुपैया र प्रमाण पत्र युबेशलाई हस्तान्त्रण गरेका हुन् । क्लबले ललितपुर जिल्लाका २४ वटा विद्यालय मध्येबाट २०७९ सालमा सम्पन्न कक्षा ९ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गरेका युबेशलाई पुरस्कृत गरेको हो । त्यसैगरी उक्त नतिजाका आधारमा अन्य ३ जनालाई द्धितीय पुरस्कार र ६ जनालाई तृतीय पुरस्कार प्रदान गरिएको छ । द्धितीय र तृतीय हुने विद्यार्थीले प्रमाणपत्र सहित क्रमशः नगद बीस हजार र दश हजार पाएका छन ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी कनकमणि दीक्षितले कुनै व्यक्तिले केहि काम गर्नको लागि कल्पना गरेर सोहि बमोजिम मेहनेत गरे सफलता हासिल गर्न सकिने बताए । उनले पुरस्कार पाएका विद्यार्थीहरुलाई कुनै पनि काममा निरन्तरता र सक्रियताका साथ लाग्न सुझाव दिए । आफ्ना पिताको नेपाली भाषा साहित्य लेखनको चर्चा गर्दै जन्मभूमि प्रति सदैव सकारात्मक भावना राख्नु पर्नेमा जोड दिए । रोटरीले सन् २०१३ देखि कमलमणि एजुकेसन एक्सलेन्स अवार्ड प्रदान गर्दै आएको छ ।

रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र सिंह रावलले आर्थिक अवस्था कमजोर भएकै कारण कसैले पनि शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उदेश्यले विभिन्न किसिमका पुरस्कार तथा छात्रवृतिका कार्यक्रमहरु सञ्चालन भइरहेको बताएका छन । उनले यस वर्ष मात्रै आर्थिक अवस्था कमजोर भएका ललितपुरका २४ वटा सामुदायिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म अध्ययनरत ४ सय १८ जना विद्याथर््ीलाई छात्रवृत्ति समेत वितरण गरिएको जानकारी दिए । क्लबले सन् १९९१ सालदेखि सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
उक्त कार्यक्रमको पहिलो शत्रमा ललितपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने बारे छलफल समेत भएको थियो । जिल्लाका २४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको कार्यक्रमको सहजीकरण गर्दै यूलेन्स स्कुलका प्रिन्सीपल मेदीन लामिछानेले विद्यालयमा प्रजातान्त्रिक नेतृत्व अभ्यास र नीतिगत व्यवस्था अब्बल हुनुपर्नेमा जोड दिए । शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय, सहकार्य र सहयोगबाट विद्यालयमा थप सुधारका कार्यहरु गर्न सकिने उनको भनाई थियो ।
अर्का सहजकर्ता तथा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक गंगाराम गौतमले आफ्नो दायित्व अन्तर्गत पर्ने वरिपरिका समस्याहरुको समाधान गर्न सके पनि शैक्षिक गुणस्तर उकास्नमा ठूलो योगदान पुग्ने बताए । उनले विद्यालय व्यवस्थापन समिति, प्रशासन र शिक्षकले गर्ने साना प्रयासबाट नै राम्रो शैक्षिक सिकाईको शुरुवात गर्न सकिने धारणा व्यक्त गरे ।