कैलालीको धनगढीमा यही मङ्सिर २२ गतेबाट सुरु हुने सुदूरपश्चिम महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवको यो भने १७ औँ संस्करण हो । महोत्सवको तयारी तीव्र पारिएको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
महोत्सवमा करिब २ करोड खर्च अनुमान गरिएको छ । भने करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ । ५ लाख दर्शकले अवलोकन गर्ने दाबी गरिएको महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक्स, होटेल र सूचना प्रविधि गरी ४ सय स्टलहरू रहने आयोजकले जनाएको छ । महोत्सव सफल पार्न ३० उप–समिति गठन गरिएका छन् । यस्तै महोत्सव अवधिभर सिसिटिभी क्यामेराको निगरानी रहने छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।