कैलालीको बर्दगोरिया गाउँपालिकाको भवन निर्माणको काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६÷०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।
ठेकेदारको लापरबाही र त्यसैमा कोरोनाको सङ्कटले प्रभावित बनेको भवन यति बेला निर्माण भई सोही भवनबाटै कामकाज गर्ने गरि गाउँ सरकार अघि बढेको छ । नवनिर्मित भवनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गाउँपालिकाले जनाएको छ ।
हामीले यही मङ्सिर १२ गते भव्य रूपमा भवनको उद्घाटन गर्ने गरी तयारी गरिरहेका छौ । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले भने,… “कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओली आउँदै हुनुहुन्छ । उहाँकै करकमलबाट भवनको उद्घाटन हुनेछ । सबै सरोकारवालाहरूलाई कार्यक्रममा सहभागिताका लागी पनि अनुरोध छ । सबै मिली कार्यक्रमलाई भव्य र सभ्य बनाऔँ ।”
पहिलो स्थानीय तहको निर्वाचन पछि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिका आफ्नै प्रशासनिक भवनमा सरे सँगै व्ययभार कम हुने तथा सेवा प्रवाहमा समेत सहजता आउने अपेक्षा गरिएको छ । कुँवर नेतृत्वको गाउँ सरकारले एक पछि अर्को जन पक्षीय काम गर्दै आएको भन्दै गाउँवासीहरू समेत निकै खुसी छन् ।
६ करोड १७ लाख लागतको ५० कोठे भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो । भवनमा बालमैत्री, अपाङ्ग मैत्री, महिला मैत्री तथा वातावरण मैत्री र सुविधा सम्पन्न हल सँगै लिफ्ट समेत जडान गरिएको छ ।