
कैलालीका पालिका स्तरीय जिल्ला व्यापी फुटबल प्रतियोगिता हुने भएको छ । बर्दगोरिया स्पोर्टस् एन्ड ईभेन्टस प्रा.ली.को आयोजनामा मङ्सिर ८ गतेबाट प्रतियोगिता सुरु हुने जनाइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा कैलालीका १३ वटा पालिकाबाट टिम सहभागी हुने छन् । भने एउटा पालिकाबाट बढीमा ३ वटा टिम सहभागी हुन पाउने भएका छन् । पालिका स्तरबाट नै खेलाडीहरूको उत्पादन र पहिचान गर्दै देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बर्दगोरिया स्पोर्टस् एन्ड ईभेन्टस प्रा.ली.का अध्यक्ष प्रमोद मल्लले बताए । यस्ता खेलकुदले युवाहरूलाई खेलप्रति प्रेरित गर्दै कुलतबाट जोगाएर र समाजप्रति जिम्मेवार तथा उत्तरदायी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आगामी मङ्सिर ८ गतेदेखि मुडा बजारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले २ लाख नगद सहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उप–विजेताले १ लाख ५ हजार नगद सहित ट्रफी पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार र उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीले जनही १५ हजार नगद सहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार राखिएको छ । टिम मङ्सिर ५ गते दिउसो ३ बजे सम्म दर्ता गराई सक्नु पर्ने आयोजकले जनाएको छ ।
