इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरु मध्ये काठमाडौँ ल्याएका चार जनाको शव धनगढी लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल ल्याइएको हो । दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा जोशीपुर गाउँपालिका–५ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो ।
आज साँझ साढे ५ बजे तिर चार वटै शवलाई धनगढी विमानस्थलले आफन्तहरूलाई शव बुझाएको थियो । शव बुझ्न विभिन्न आफन्त लगायत विभिन्न व्यक्तिहरूको विमानस्थलमा उपस्थिति रहेको थियो । घोडाघोडी–४ का नारायणप्रसाद न्यौपानेको शव बुझ्न नगरपालिकाको गाडी लगेर नगर प्रमुख खडक बहादुर रावत सहित मृतका आफन्तहरू धनगढी विमानस्थलमा पुगेका थिए । शव बुझ्दै नगर प्रमुख खडक बहादुर रावतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली अर्पण गर्दै नगर प्रमुख रावतले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे । शव बुझ्दै गर्दा मेयर लगायत मृतकका आफन्तहरूका आँखा रसाएका थिए । नारायणप्रसाद न्यौपानेको दाहसंस्कार भोली हुने परिवार स्रोतले जनाएको छ । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरू गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।