गत साउन ३० गते कञ्चनपुरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय लक्ष्मी घर्तीको हत्यामा संलग्न ४ जना पक्राउ परेका छन् । उनको शव पुनर्वास नगरपालिकाको सडकमा फेला परेको थियो ।
उनको हत्यामा पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी गाउँपालिकाका पाँच युवक संलग्न रहेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनको हत्यामा बेलौरी नगरपालिका–१ का १९ वर्षीय राहुल राना, सोही ठाउँका २७ वर्षीय सरोज राना, लालझाडी गाउँपालिका–१ का ३३ वर्षीय सेनराज राना, ३० वर्षीय राजकुमार राना र परशु राना संलग्न रहेका छन् ।
गत साउन २९ गते साँझ साढे ५ बजे मामाघर जान्छु भनेर घरबाट निस्किएकी लक्ष्मीलाई उनीहरूले ललाई फकाइ मोटरसाइकलमा राखी लालझाडी जङ्गलमा हात्ती हेर्न बनाइएको टहरामा लगी मदिरा सेवन गराएको र टहराको तेस्रो तलाबाट खसालेको प्रहरी अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार टहराबाट खसेर गम्भीर घाइते भई बेहोस भएकी लक्ष्मीलाई उनीहरूले राति साढे ९ बजे मृतकको माइतीघर नजिकै सडक किनारमा फालेर भागेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले अनुसन्धानको क्रममा सरोज राना, सेनराज राना, राहुल राना र परशु रानालाई पक्राउ गरेको छ । भने घटनामा संलग्न राजकुमार रानाको खोजतलास भइरहेको जनाइएको छ ।
प्रकाशित :- २०८० आश्विन १६, गते मंगलवार