
कैलालीको बर्दगोरिया गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने विभिन्न संस्थाहरूलाई सम्मान गरेको छ । सोमबार पालिकाको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसरमा उनीहरूलाई सम्मान गरिएको स्वास्थ्य शाखा संयोजक मीनबहादुर धामीले जानकारी दिए ।

सहज र प्रभावकारी रूपमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै दोदोधरा अस्पताल, कोटातुल्सीपुर स्वास्थ्य चौकी, रानिकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्र, निमुवाबोझी आधारभूत स्वास्थ्य सेवा केन्द्र, कोइलीभुरुवा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दोघरा आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई सम्मान गरिएको हो । यस्तै निजी क्षेत्रबाट सञ्चालित बर्दगोरिया अस्पताल प्रा.लीलाई पनि सम्मान गरिएको छ ।
समुदायमा स्वास्थ्यको क्षेत्रमा काम गरेको भन्दै गैरसरकारी संस्थाबाट सुदूरपश्चिम समाज कैलाली, बाल कल्याण सङ्घ टिकापुर र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएस डब्लुए) लाई सम्मान गरिएको छ । सञ्चारका माध्यमबाट सूचना प्रवाह गरेको तथा स्वास्थ्यका समाचार उठान गरेको भन्दै कोसेली एफ.एमलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेहरूले सम्मानले आफूहरूलाई काम गर्ने ऊर्जा बढेको प्रतिक्रिया दिएका छन् ।
