कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ ले एम्बुलेन्स प्राप्त गरेको छ । सामाजिक क्षेत्रमा काम गर्ने संस्था मोर केयर सेवा समाजले आफूले सञ्चालन गर्दै आएको एम्बुलेन्स शुक्रवार लम्कीचुहा नगरपालिका ६ लाई हस्तान्तरण गरेको हो ।
एम्बुलेन्स आए पछि वडावासीलाई थप सहज हुने वडा अध्यक्ष लोकेन्द्र कठायतले बताए । “एम्बुलेन्स नभएर विगत देखी नै कत्तिका ज्यान गएका छन् । लम्कीमा भएका एम्बुलेन्स पनि व्यस्त हुने र खोजेको बेला नपाइने समस्या छ । जनताको समस्यालाई मध्यनजर गर्दै मैले केयर नेपाल सँग बारम्बार समन्वय गरेर आज सफल भएका हौ । यसका लागी मोर केयर नेपाल प्रति पनि आभारी छु ।” उनले भने ।
यता समाज प्रतिको उत्तरदायित्व बहन गर्न र समाजमा विद्यमान समस्याको समाधान खोज्न आफूले सहयोग गरेको मोर केयर नेपालले जनाएको छ । “हामीले २/४ वर्ष भयो किनेर चलाएको । सरकारले पनि स्वास्थ्य संस्था सँग जोडिएर एम्बुलेन्स चलाउने भन्ने निर्देशिका आएको छ । वडा अध्यक्ष ज्युले पनि बारम्बार भनिरहनु भएको थियो । सोही अनुसार हामीले यो वडालाई एम्बुलेन्स हस्तान्तरण गरेका हौ ।” मोर केयर सेवा समाजका अध्यक्ष कालु सिंह भुलले भने । एम्बुलेन्स पाए पछि आफूहरूलाई आइपर्दा सहज हुने भन्दै वडावासी समेत खुसी भएका छन् ।