

गोपाल जंग थापा
मुटु रोगबाट बच्नका लागि स्वस्थकर खानापान र जीवनशैलीमा ध्यान दिनु पर्ने विज्ञहरुले बताएका छन । विश्व मुटु दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ पाटन र नेपाल एनसीडी एलायन्सले संयुक्त रुपमा सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले सो कुरा बताएका हुन् । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगबाट विश्वमा सबैभन्दा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेको बताए । उनले विश्वभर वर्षेनी २ करोड मानिसले मुटु रोगको कारण ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक गरे । विभिन्न कारणले नेपालमा पनि वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दै गएकोले यसतर्फ सचेत हुनु पर्ने डा. रेग्मीले बताएका छन । उनका अनुसार नेपालमा वार्षिक ३० लाख मानिसको मुटु सम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ । समयमै उपचार गरे ८० प्रतिशत मुटु रोग निको हुने भएकाले स्वस्थ जीवनशैलीमा ध्यान दिन उनको सुझाव छ । धेरैजसो सर्वसाधारणले रोग लाग्दा लापरवाही गर्ने भएका कारण अकालमै मृत्युवरण गर्नु पर्ने अवस्था रहेको रेग्मीको भनाई छ ।
फिजिसियन डा.दिल्जान मन्सुर (कुर्द) ले मुटु रोगबाट बच्नका लागि विशेषगरी खानपानमा ध्यान दिन आग्रह गरेका छन । उनले स्वाद मेटाउनकै लागि आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी जथाभावी खाने बानीले शरीरको नियमित प्रक्रियामा असर पर्ने भएकाले यसबाट मुटु रोगको जोखिम बढ्ने बताए । उनले जाँड, रक्सी, चुरोट, गुट्खा, खैनी, सुर्ति सेवनबाट टाढा रहन सके मुटुलाई स्वस्थ राख्न मदत पुग्नेमा जोड दिए । चिल्लो, तारेको, भुटेको, बोसोयुक्त खाना र जंक फुडको सेवनका कारण स्वास्थ्यमा जटिलता थपिने भएकाले यसतर्फ सजग हुन पनि डा. कुर्दले आग्रह गरेका छन । शरीरको तौल, पेटको साईज, रक्तचाप, रगतमा ग्लुकोजको मात्रा, रगतमा कोलेस्टेरोलको मात्रा थाहा पाउन स्वास्थ्य परीक्षण गराउन अल्छी नगर्न उनले सुझाएका छन ।
डा.कुर्दले रक्तचाप सन्तुलनमा राख्न नसके यसले हृदयघात लगायतका जोखिम बढाउने सम्भावना धेरै हुने भएकाले नियमित चेकजाँच गराउनु समेत अनुरोध गरे । स्वस्थ रहनका लागि कम्तीमा दैनिक ३० मिनेट शारीरिक अभ्यास गर्न समेत उनले सुझाव दिए ।

रटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र सिंह रावलले वार्षिक योजना अनुसार विश्व मुटु दिवस २०२३ का अवसरमा मुटु सम्बन्धी जनचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । स्वास्थ्य क्षेत्रमा समेत रोटरीले विभिन्न कामहरु गर्दै आएकाले यस वर्ष ५ हजार विद्यार्थीको मुटु चेकजाँच गर्ने लक्ष्य रहेको रावलले जानकारी दिए ।
कार्यक्रममा अन्य सहभागीहरुले कसरी मुटु स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा आम सर्वसाधारणमा सचेतना बढाउनु पर्नेमा जोड दिएका छन । उनीहरुले पछिल्लो समय खाद्यान्न तथा तरकारीमा मिसावट र विषादीको जथाभावी प्रयोग बढ्दै गएकाले जनस्वास्थ्यमा चुनौती थपिएको प्रति चिन्ता व्यक्त गरेका छन । विषादी नहालेको तरकारी पाउनै मुश्किल हुने भएकाले शहरी क्षेत्रमा बसोबास गर्नेहरु यसबाट अझ धेरै प्रभावित भइरहेको उनीहरुको भनाई छ । उनीहरुले बढ्दो जनसंख्याका कारण वातावरण प्रदूषित बनीरहेकाले यसतर्फ सरकारले ध्यान दिएर नीतिगत व्यवस्था गरी यसको कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन ।
हरेक वर्ष सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्ष २०२३ को विश्व मुटु दिवसको नारा “मन लगाउँ, आफ्नो मुटु बचाउँ” भन्ने तय गरिएको छ ।