
सुखड: सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका गर्नका लागि दाबी पेस गर्न प्रदेश प्रमुख नजिर मियाँले दिएको समय आज सकिँदै छ । प्रदेश प्रमुख मियाँले आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा तोकेका थिए ।

केन्द्रमा गत फागुन २१ गते सत्ता समीकरण फेरिएसँगै त्यसको भुमरीमा परेका प्रदेश सरकारहरू अहिले अस्तव्यस्त बनेका छन् । जसमा सुदूरपश्चिम प्रदेश प्रमुख सिकार बनेको छ । गत चैत २२ गते माओवादी- कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेस कमल बहादुर शाहले राजीनामा दिएपछि यहाँ सरकार गठन हाल सम्म पनि भएको छैन् । झण्डै १५ दिन मुख्यमन्त्री विहीन बनेको प्रदेश सभामा हालसम्म पनि मुख्यमन्त्री को बन्ने भन्ने टुङ्गो लागेको छैन् ।
शाहको राजीनामापछि प्रदेश प्रमुख मियाँले गत २३ गते एक सूचना टाँस गर्दै वैशाख २ गते बेलुका ५ बजेसम्म नेपालको संविधानकाे धारा १६८ काे उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए । उक्त समयमा अन्तिम आएर दुई थरी गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीका दुई जना सांसदले आफ्नो बहुमत पुगेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । जसमा कांग्रेस, नागरिक उन्मुक्ति, राप्रपा र एकीकृत समाजवादीकाे समर्थनमा उन्मुक्तिका रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले दाबी पेश गरे । अर्को तर्फ सत्ता साझेदार दल माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति, र एक जना स्वतन्त्र सांसद्काे समर्थन रहेको भन्दै उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफ्नो दावी पेश गरेका थिए ।
एकै पार्टीका दुई जनाको दाबी परेपछि प्रदेश प्रमुखले कानुनी परामर्शका लागि दुई दिनको समय माग गरेका थिए तर त्यही बीचमा पुनः रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गरेको एकीकृत समाजवादीले समर्थन फिर्ता लियो ।
त्यसपछि अन्तिममा आएर प्रदेश प्रमुख नजिर मियाँले दुवै जनाको दाबी अस्वीकार गर्दै दुई दिनको समय तोकेका थिए जुन आज सकिँदै छ ।

यता सत्ता गठबनधनको तर्फबाट समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी रहेको बताइएको छ । तर अन्तिम समयमा आएर नेकपा एमाले मौन रहेको र सोडारीलाई मुख्यमन्त्री स्वीकार गर्न आनाकानी गरी रहेको बताइएको छ । सोही बीचमा त्यस आधारमा हेर्ने हो भने आज पनि मुख्यमन्त्रीमा बहुमत सहित दाबी पेश हुनेमा ढुक्क हुन सकिने अवस्था छैन ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । यहाँ कांग्रेसका १८, माओवादीका सभामुख सहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद एक/एक जना रहेका छ्न् ।
एक जना सांसदकाे भने सवारी दुर्घटनामा परी मृत्यु भएका कारण उपनिर्वाचन हुँदै छ ।