

कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यको कार्यकक्षमा लगाइएको ताला खोल्ने विषयमा जारी सर्वपक्षीय छलफलमा आफ्ना हाकिमलाई हातपात भएको भन्दै कर्मचारीहरू गेटमा ताला लगाएर आन्दोलनमा छन् ।

“हाकिमले म कुटिए, म माथि हातपात भयो भन्नु भयो । त्यसैले हामी सबै आन्दोलनमा छौ । कार्यालयमा आएर कर्मचारीलाई कुटपिट गर्ने कुरा त राम्रो भएन नि । यसरी त हामी सबै असुरक्षित भयौ । हातपात गर्नेलाई कारबाही नभए सम्म आन्दोलन जारी रहन्छ ।” एक कर्मचारीले निर्भीक पोस्टलाई भने ।
कर्मचारीहरू हाकिमको न्यायका लागी भन्दै घाममा धर्ना दिइरहेका छन् । तर भित्र हाकिमले न्याय पाइसकेको कुरा कर्मचारीलाई भने जानकारी छैन । श्रोतका अनुसार छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत आचार्य र माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमाल बिच बोलाबोल भएको थियो । त्यही क्रममा हमालले आचार्य बसेको कुर्ची धकेलेका थिए । यद्धपी यो कुरा त्यही बेला नै मिलिसकेको छ ।
“सामान्य विवाद भएको थियो । त्यो कुरा त मिलिसक्यो त । अहिले ताला खोल्ने विषयमा छलफल भइरहेको छ । कर्मचारी आन्दोलित भएको कुरा त मलाई जानकारी भएन ।” इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले भने ।
हाकिमको न्यायका लागी आन्दोलित भएका कर्मचारीहरू अहिले अन्योलमा परेका छन् । विवाद साम्य भएको विषयमा आफूहरूलाई आधिकारिक जानकारी नआएको कर्मचारीहरूको भनाई छ ।
