
कैलालीको धनगढी उपमहानगरले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि नगर प्रमुख गोपाल हमाल नेतृत्वको उपमहानगरले दाहसंस्कार खर्च स्वरूप घरमै गएर ५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई ५ हजार सहयोग गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।
उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले अन्तिम संस्कारका लागि शवबाहन र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे बताए ।
सेवाग्राहीले नगर प्रहरीबाटै शवबाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।



