कैलालीको लम्कीचुहा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत रोयल चोकमा आज भएको सवारी दुर्घटनामा १६ वर्षीय किशोर शिरिस भण्डारीको मृत्यु भएको छ।
लम्कीचुहा–८, मल्भङ्गाका स्थायी बासिन्दा भण्डारी नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनापछि आक्रोशित मृतकका परिवारजन, स्थानीय बासिन्दा तथा युवाहरूले न्यायको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध सिर्जना गरेका छन् भने केही युवाहरू हातमा लाठीसहित उपस्थित रहेका छन्।
स्थिति नियन्त्रणमा राख्न प्रहरीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




