
सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार पदभार ग्रहण गरेका छन् । अर्घाखाँचीका मियाँलाई नेपाल सरकार मन्त्रीपरिषद्को फागुन २८ गतेको बैठकले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

फागुन ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख मियाँले शुक्रबार धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख मियाँले सबै पक्षसँग समन्वय र सल्लाह गरेर कामकाज गर्ने प्रतिबद्वता जनाएका छन् । मियाँ मुस्लिम समुदायबाट प्रदेश प्रमुख बनेका पहिलो व्यक्ति हुन् । मियाँ अर्घाखाँचीको पाली गाविस २००८ साल माघ १५ गते जन्मिएका थिए । उर्दु र नेपाली भाषामा माध्यमिक तहसम्मको अध्ययन गरेका मियाँ एमालेबाट २०६४ सालमा समानुपातिक संविधानसभा सदस्य रहेका थिए ।
मियाँ पञ्चायतकाल २०३८ सालमा पाली गाविस उपप्रधान र २०४३ सालमा पञ्चप्रधानमा गरी दुई पटक जनपक्षीय उम्मेदवार भएर पराजित भएका थिए । उनी बहुदलपछि २०४९ र २०५४ सालमा नेकपा एमालेबाट पाली गाविस अध्यक्षमा निर्वाचित भएर थिए ।
२०२८ सालदेखि कम्युनिष्ट पार्टीसंग नजिक रहेका मियाँले २०४६ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएका थिए । मियाँ २०४८ सालमा स्थापना भएको एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संग ठनका संस्थापक नेता समेत हुन् ।

२०६१ सालमा जनआन्दोलनको समयमा उनका शरिरका विभिन्न पाँच ठाउँमा रबरको गोली लागेर घाईते भएका थिए । यस्तै मियाँले २०५९ एमालेको महाधिवेशनबाट केन्द्रीय सल्लाहकार नियुक्त भएर काम गरेका थिए भने २०६५ र २०७० सालको केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०६४ सालदेखि २०७७ सालसम्मा नेकपा अर्घाखाँचीका जिल्ला ईन्चार्जको जिम्मेवारी समालेका मियाँ पार्टीको १० औँ महाधिवेशनपछि २०७८ पछि केन्द्रीय सल्लाहकार परिषमा छन् ।