कैलालीको घोडाघोडी नगरपालिकामा जारी नगरस्तरीय बडीमालिका क्रिकेट कप–२०८२ को उपाधि चिडियाताल युथ क्लबले जितेको छ। गत पुष ३० गतेदेखि सञ्चालन भएकाे प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा चिडियातालले आयोजक बडीमालिका युथ क्लबलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको चिडियाताल युथ क्लबले निर्धारित १५ ओभरमा २०४ रनको विशाल योगफल खडा गरेको थियो। चिडियातालका लागि हरिश बस्नेतले १७ बलमा २ चौका र ७ छक्काको मद्दतमा विस्फोटक ५४ रन जोडे। यस्तै संगम बिष्टले २६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५४ रन बनाए भने जगत पन्त ३८ रनमा नटआउट रहे। दिनेश रावतले पनि २ चौका र ३ छक्काको मद्दतमा ३० रनको योगदान दिए।
बलिङतर्फ बडीमालिकाका राजन मल्लले २ विकेट लिए भने ताराप्रसाद ढुङ्गानाले महत्वपूर्ण दुई विकेट हात पारे। कृत विष्ट र राम क्षेत्रीले १–१ विकेट लिए।
२०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको आयोजक बडीमालिका युथ क्लब ८.४ ओभरमै ६४ रनमा अलआउट भयो। बडीमालिकाका कृप्त विष्टले सर्वाधिक २७ रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। चिडियातालका मिलन जैसी र जगत पन्तले ४–४ विकेट लिए भने हरिश बस्नेतले २ विकेट हात पारे।
प्रतियोगिताको विजेता चिडियाताल युथ क्लबले नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजक बडीमालिका युथ क्लबले नगद १० हजारमा चित्त बुझाएको छ।



