कञ्चनपुरमा समयमै उद्दार नहुँदा नदीमा फसेकाे बाघकाे डमरूकाे मृत्यु भएको छ ।
दोधाराचाँदनी नगरपालिका–१ काे चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जाेगबुढा नदीमा फसेको बाघको डमरूकाे मृत्युु भएको हाे ।
नदीकाे हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान डमरू भेटिएको थियोे ।
स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरिएको थियोे तर दुवै निकायबाट उद्दारमा ढिलाइ भएपछि डमरूकाे मृत्यु भएको हाे ।
अहिले राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय भने आराेपप्रत्याराेपमा उत्रिएका छन् ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण काेष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे लापरवाहीका कारण डमरूकाे मृत्युु भएको दाबी गरे ।
उनले डमरू नदीमा फसेकाे अवस्थामा रहेकाे थाहा पाएपछि आफू उद्दारका लागि घटनास्थल जान खाेजेपनि सशस्त्र प्रहरीले राष्ट्रिय निकुञ्जका वार्डेनकाे अनुमति बिना जान नदिने भन्दै राेकेकाे बताए ।
निकुञ्जले आफू पनि उद्दार नगर्ने र वनकाे टाेलीलाई समेत राेकेकै कारण डमरूकाे मृत्यु भएको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चाैधरीले डमरूकाे उद्दारका लागि ढिलाइ भएको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।
दिउँसो २ बजेतिर डमरू नदीमा फसेकाे खबर प्राप्त भएपछि चिकित्सकसहितकाे प्राविधिक टाेली घटनास्थल पुगेकाे बताए ।
तर, बगेनी समेत घटनास्थल वरपर भएका कारण माउले नै डमरू लगाेस् भन्ने काेणबाट प्राविधिकले रेकी गरेर बसेपनि कुर्दाकुर्दै मृत्युु भएको बताए ।
“उद्दार टाेली नगएकाे भन्ने कुरा गलत हाे । चिकित्सकसहित हाम्रो प्राविधिक टाेली समयमै घटनास्थल पुगेको थियाे,” चाैधरीले भने,” माउ पनि वरिपरि भएकाले बच्चा माउले नै लगाेस् भन्ने काेणले रातिसम्म प्राविधिक टाेली कुरेर बसेकाे थियाे तर डमरूकाे दु:खद मृत्यु भयाे।”
उनकाअनुसार मृत्युु भएको डमरूकाे उमेर करीब दुई महिनाकाे थियो ।
बगेनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे नभएर भारतबाट डमरू खेलाउने त्यहाँ पुगेकाे उनी बताउँछन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले ४४ बाघकाे संरक्षण गरेर राखिएकाे छ ।




