कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थी केन्द्रित विशेष कार्यक्रम ‘विद्यार्थीसँग मेयर’ सञ्चालन हुने भएको छ। विद्यार्थीहरूले आफ्ना समस्या, अनुभव, सुझाव र भविष्यका सपनाहरू सिधै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत समक्ष राख्न पाउनेछन्।
कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो सिकाइ वातावरण, विद्यालयको आवश्यकता, र भविष्यका योजना विकास निर्माण लगायतका सवालमा प्रत्यक्ष रूपमा नगरप्रमुखसँग संवाद गर्न पाउने भएका छन्। नेतृत्व केवल राजनीतिक हैन, सकारात्मक दृष्टिकोण निर्माण गर्ने प्रक्रियासँग सम्बन्धित हुन्छ, र त्यो दृष्टिकोण विद्यालयमै बस्दा निर्माण हुने विश्वाससहित यो पहल अघि बढाइएको बताइएको विद्यालय प्रशासनले जनाएको छ।
यस कार्यक्रमले विद्यार्थीहरूको आत्मबल, आत्मविश्वास र भविष्यबारेको दृष्टि अझ प्रष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले विश्वास लिएको छ।
साथै कार्यक्रमका लागि समय मिलाइदिएकोमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।
त्यसैगरी कार्यक्रमको पहल र आयोजनामा सक्रिय भूमिका खेलेका विद्यालयका संस्थापक प्रिन्सिपल परशुराम भण्डारीलाई पनि विद्यालयले आभार व्यक्त गरेको छ।
कार्यक्रम मार्फत विद्यार्थीहरूले सोझै नगरप्रमुखसँग सवाल जवाफ गर्न सक्नेछन्। कार्यक्रमको प्रत्यक्ष प्रसारण निर्भीक पोष्टको आधिकारिक पेज मार्फत हुने छ ।





