घोडाघोडी नगरपालिका–५ मा रहेको जनप्रिय आधारभूत विद्यालयमा तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण कार्यको शिलान्यास गरिएको छ। बिहीबार एक समारोहका बीच नगरप्रमुख खडकबहादुर रावतले भवन र शौचालयको शिलान्यास गरेका हुन्।
सो अवसरमा स्थानीय समुदाय, घोडाघोडी नगरपालिका र बिल्ड अन नेपालबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर पनि गरिएको छ। सम्झौतामा नगरपालिकातर्फबाट शिक्षा शाखाका अधिकृत उमेशराज रेग्मी, स्थानीय समुदायका प्रतिनिधि र बिल्ड अन नेपालका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले विद्यालयको भौतिक संरचना सुधारले शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने बताउँदै, स्थानीय समुदायसँग सहकार्यमा शिक्षा क्षेत्रको विकासका काम निरन्तर अगाडि बढाइने प्रतिबद्धता जनाए।
बिल्ड अन नेपालका फिल्ड संयोजक बुद्धराम चौधरीले कार्यक्रम प्रकाश पार्दै संस्थाले ग्रामीण समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको जानकारी दिए। उनका अनुसार घोडाघोडी नगरपालिकाभित्रका विद्यालयहरूको आवश्यकता पहिचान गरी हालसम्म १० वटा विद्यालय हस्तान्तरण गरिसकिएको र यस आर्थिक वर्षमा थप तीन वटा सामुदायिक विद्यालयका भवन निर्माण गरिने योजना रहेको छ।
भवन बिल्ड अन नेपालको ३५ लाख १४ हजार २ सय ९ रुपैयाँ ३४ पैसा, स्थानीय समुदायको १० लाख ५७ हजार ३ सय ५ रुपैयाँ ३० पैसा श्रमदान र घोडाघोडी नगरपालिकाको सहयोग ५ लाख रुपैयाँ गरि कुल लागत: रु ५० लाख ७१ हजार ५ सय १४ रुपैयाँ ६४ पैसा रहेको छ ।
सम्झौता अनुसार भवन निर्माण कार्य २०८२ माघ २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत रहेका थिए भने विशिष्ट अतिथिमा शिक्षा शाखा अधिकृत उमेशराज रेग्मी र वडा नम्बर ५ का अध्यक्ष लोकबहादुर चन्द रहेका थिए ।
कार्यक्रममा वडाका जेष्ठ नागरिक, बुद्धिजीवी, अभिभावक तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर रानाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक मानबहादुर ढुंगालले गरेका थिए।







