समाचार सारांश
- • पटक–पटक सूचना बेवास्ता गर्ने व्यापारीविरुद्ध विद्यालयको कठोर कदम
- • यो पटक पनि रकम नउठे कानुनी प्रक्रिया अघि बढ्छ - अध्यक्ष हमाल
कैलालीको घोडाघोडी नगरपालिका–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सुखडले लामो समयदेखि उठ्न नसकेको भाडा संकलन अभियान थालेको छ।
विद्यालयको टिम व्यापारीको पसलमा तस्बिर: खेम ढुङ्गाना
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले विद्यालयका प्रधानाध्यापक माधव शर्मा, सहायक प्रधानाध्यापक राजु बस्नेत सहितको टिमलाई लिएर प्रत्यक्ष पसलमा पुगेर भाडा असुल्न थालेका हुन्। विद्यालयले निर्माण गरेको सपिङ कम्प्लेक्सका सटर व्यापारीहरूले विभिन्न समयमा सम्झौता गरी भाडामा लिएर व्यापार गर्दै आएका छन्। तर, विद्यालयले पटक–पटक सूचना जारी गरे पनि लामो समयदेखि भाडा तिरेका छैनन्।
भाडा नउठेपछि विद्यालयको आर्थिक व्यवस्थापनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ। लामो समयदेखि भाडा नआएपछि अध्यक्ष हमाल आफैं टिमसहित व्यापारीहरूसमक्ष पुगेका हुन् ।
व्यापारीसँगको संवादमा विद्यालयको टिम तस्बिर: खेम ढुङ्गाना
विद्यालयसँगको सम्झौताअनुसार भाडा बुझाउनुपर्ने हो। सूचना जारी गर्दा पनि बेवास्ता भएपछि हामी आफैं पसल–पसल पुग्यौं। केही रकम संकलन पनि भएको छ। तर अझै धेरै बक्यौता बाँकी छ, यो पटक पनि रकम नउठे अन्तिम पटकका लागि सूचना जारी गर्छौं, त्यसपछि कानुनी प्रक्रिया अघि बढाउछौँ” अध्यक्ष हमालले भने ।



