घोडाघोडी नगरपालिका वडा नम्बर १ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय सुखडले शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।
विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरी एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक, विद्यार्थी तथा स्थानीय प्रतिनिधिको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक धनबहादुर बम (आकाश)ले विद्यार्थीहरूको मेहनत र अभिभावक तथा शिक्षकको सहकार्यका कारण विद्यालयले यस वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे। साथै, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई भविष्यमा अझ लगनशील भएर अध्ययन गर्न आग्रहसमेत गरे।
राष्ट्रिय मावि सुखडले विगत वर्षहरूमा सोचेजस्तो नतिजा प्राप्त गर्न सकेको थिएन। तर अहिले विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति नयाँ आएसँगै विद्यालयले एसइ परीक्षा नतिजामा सुधार गरेको छ।
यस वर्ष राष्ट्रिय माविबाट १८६ जना विद्यार्थीले परीक्षा दिएकोमा ११५ जना विद्यार्थी पास भएका छन्। जुन घोडाघोडी नगरपालिकामै सबैभन्दा बढी उत्तीर्ण संख्या हो ।
विद्यालयले आगामी शैक्षिक सत्रमा अझ उत्कृष्ट नतिजा ल्याउने संकल्प व्यक्त गर्दै विद्यार्थीहरूको लागि थप शैक्षिक सहजीकरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।



