कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय सुखडले विशेष अपरेसनमार्फत २ किलो ७ सय १४ ग्राम अवैध लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख पहरी नायव उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार सोमबार साँझ विशेष सुराकीको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय सुखडको सयुक्त प्रहरी टोलीले गरिएको छापा मार्फत घोडाघोडी नगरपालिका–१ घोडाघोडी टोल स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट लागूऔषध अफिम सहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, २७ वर्षीय सालु शाही र जिल्ला रोल्पा सुनछहरी गाउँपालिका–३ की ३२ वर्षीय पुर्णिमा पुन मगर रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट लुकाई छिपाइ राखिएको अवस्थामा २ किलो ७ सय १४ ग्राम अफिम बरामद गरिएको डिएसपी अवस्थीले जानकारी दिए । पक्राउ परेकामाथि अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक अवस्थीले बताए ।
अवैध लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूको निगरानी तथा नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय सुखडले सक्रियता बढाएको जनाएको छ ।


