कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जगदम्भिके भगवती माध्यमिक विद्यालयले पहिलो वार्षिकोत्सव मनाएको छ । वि.सं. २०३४ सालमा विद्यालय स्थापना भए पनि वार्षिकोत्सव भने पहिलो पटक मनाएको हो ।

विद्यालयका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए भने उपाध्यक्ष गणेशराज गिरी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा विद्यार्थीहरूले कला प्रस्तुत गरेका थिए भने विद्यालयका लागी महत्त्वपूर्ण योगदान दिनेहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले पालिकाले विद्यालयको भौतिक विकासमा सहयोग गर्ने बताए । “यस विद्यालयको भौतिक विकासका लागी मन्त्रालय र सरकारका प्रमुख सँग पटक पटक भेटेर छलफल भएको छ । सङ्घीय सरकारबाट आउने रकम पनि रोकिएको छ यसका लागी हामी निरन्तर लागी परेका छौ ।” उनले भने ।
पालिकाले भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेखनीय काम गरेको पालिकाका उपाध्यक्ष गिरीले बताए । उनले विद्यालयको समग्र विकासका लागी स्थानीय सरकार निरन्तर लागी परेको भन्दै शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
स्थापनाकाल देखि विद्यालयलाई सहयोग पु¥याउने संस्थापक प्रधानाध्यापक यमबहादुर गौतम, संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पूर्व प्रधानाध्यापकहरु चन्द्रेस्वर लालकर्ण, नेत्रबहादुर खडका, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, राम बहादुर चौधरी, दानदाता कर्णबहादुर कुँवर, जग्गादाता दीर्घ राज जोशी, कुमारी जोशी, शिक्षिका सत्य देवी कुँवर, शिक्षक ध्रुव चौधरी, कार्यालय सहयोगी रामफल चौधरी, मन्दिर निर्माण कर्ता पहराम बुढा, पूर्व विद्यार्थी विष्णु विष्ट लगायतलाई सम्मान समेत गरेको छ ।
चासोमा विज्ञान प्रदर्शनी
जगदम्भिके भगवती माध्यमिक विद्यालयले पहिलो वार्षिकोत्सव मनाइरहँदा त्यहाँ राखिएको विज्ञान प्रदर्शनी सबैको चासोमा रह्यो । विद्यार्थीहरूले डोजर, हेलिकप्टर, इलेक्ट्रिक बेल, विद्युतीय कार, ड्रोन, हाइड्रो लिक लिफ्ट, सौर्य मण्डल, शारीरिक रक्तसञ्चार लगायतका विभिन्न नमुनाहरू प्रदर्शनका लागी राखिएका थिए । यस्ता नयाँ विज्ञान प्रविधिका नमुनाहरूले दर्शक तथा अतिथिहरूको ध्यान केन्द्रित गरेको थियो ।

विज्ञान प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रममा प्रमुख अतिथि कुँवर तथा विशिष्ट अतिथि गिरीले सबैलाई धन्यवाद र बधाई दिए । यस्ता प्रविधिलाई आत्मसाथ गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनीहरूले विद्यार्थीहरूले नयाँ प्रविधि सँग जोडिएर अघि बढ्न आग्रह गरे । यस्ता प्रविधि आत्मसात् गर्ने वा प्रदर्शनी गर्ने सवालमा गाउँ सरकार सधैँ साथमा रहेको समेत बताए ।


