कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पाँच महिनायता प्रदेशमा १ सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलामा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन् ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिकसम्म यस रोगको जोखिम बढी हुने गरेको बताए । उनले भने, ‘असारदेखि कात्तिकमा पानी पर्ने र रोकिने क्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धि विकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनु पर्ने हुन्छ । पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ ।’ लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताए ।
गत वर्ष प्रदेशमा डेङ्गुबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उपचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ ।
यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन्। नाक, गिँजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने चिकित्सकले बताउने गरेका छन् ।
खुला भाँडा, गमला, साइकल वा गाडीका टायर र खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धि विकास हुने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिन र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्न ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन चिकित्सकको सुझाव छ ।