
दिउँसै मदिरा सेवनपछि मातेर कार्यालय गएर मेयर र उपमेयर सँग झैझगडा गरेका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा चलाउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।


बुधवार बसेको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतले गल्ती गरेको भन्दै कानुनी कारबाहीका लागि मुद्दा हाल्ने गर्ने निर्णय गरेको हो ।
मेयर छविलाल थारूले कार्यपालिका बैठकले गैर जिम्मेवार हर्कत गरेको हुँदा प्रमुख प्रशासकीय अधिकृतमाथि कानुनी कारबाही गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

‘अब हामी केही बेरमै मुद्दा हाल्न जाँदैछौं,’ मेयर थारूले भने, ‘उपमेयर सापले अभद्र व्यवहार सम्बन्धी र मैले साइबर क्राइमसम्बन्धी मुद्दा हाल्ने बैठकले निर्णय गरेको छ ।’

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य मंगलबार दिउँसो मदिराले मातेर कार्यालयमा आएर उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गई झैझगडा गर्नुका साथै उद्दण्ड व्यवहार प्रदर्शन गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले उपमेयरको कार्यकक्षमा टेबल ठोक्दै होहल्ला गर्दै अपशब्द प्रयोग गर्नुका मेयर उपमेयरलाई सडक छाप बनाइदिने धम्की दिएका थिए ।

मंगलबार दिउँसो मदिराले मातेर कार्यालयमा आएर सार्वजनिक रूपमै झैझगडा र गालीगलौजमा उत्रिएपछि मेयर आफैले प्रहरी प्रशासनलाई खबर गरेका थिए । प्रहरीले प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

आचार्य सधैँ विवादमा आइरहने अधिकृत हुन । उनी यस अघि कैलालीको घोडाघोडी नगरपालिकामा समेत जाड काण्डमा विवादित भएपछि सरुवा गरिएको थियो । केही महिना अगाडी कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत रहदा समेत आचार्यले नसाको तालमा कैलालीका तत्कालीन सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई समेत गालीगलौज गरेका थिए ।