चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्चले कर्णाली, भेरी र बादेखोलाको संगम स्थल त्रिवेणी धाम चिनाउन चौथो संस्करणको त्रिवेणी महोत्सव २०८१ को संचालन गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर-७ चिप्लेमा मंगलबार बाट सुरु भएको कार्यक्रम माघ २२ गते सम्म चल्ने छ ।

महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले समग्र मोहन्याल गाउँपालिकाको बिकासका लागि निरन्तर काम गरिरहेको बताए । “यो पटक मात्रै यो पालिकामा करिब २ अर्बको बजेट आएको छ । यो कार्यान्वयन हुन सकेमा मात्रै मोहन्यालको मुहार फेरिनेमा बिश्वस्त हुन सकिन्छ । त्रिवेणीको पहिचान र प्रबर्द्धनका लागि प्रदेश सरकार आफ्नो ठाउबाट लागेकै छ । यहि ठाउँमा पन्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र मोहन्याल गाउँपालिका जोड्ने त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणका लागि डिपिआर बनेको छ । त्यसको काम अब छिट्टै अघि बड्छ ।” उनले भने ।
धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको त्रिवेणी धामको पहिचान र प्रवर्द्धनमा सरकारको ध्यानाकर्षण गर्न दबाब दिने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष वीरेन्द्र बहादुर रावलले बताए । “यो चौथो संस्करणको महोत्सव हो । हामिले फाइदा गर्न महोत्सब चलाएका होइनौ । महोत्सवको बहनामा सरकारका प्रतिनिधिलाई यहाँ सम्म बोलाई जनताले भोगिरहेका समस्यालाई नजिकबाट महसुस गराउन र ती समस्या समाधानका लागि दबाब दिन हामिले कार्यक्रम गर्दै आएका हौ ।” उनले भने ।
महोत्सवको माध्यमबाट एउटा एम्बुलेन्स संचालनमा आएको र एउटा शब बहान संचालनका लागि तयारी थालिएको समेत उनले बताए ।



