ताप्लेजुनमा केवलकारको विषयमा झडप हुँदा घाइते भएका ३ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

ताप्लेजुङमा प्रहरीको गोली लागेर घाइते भएकाहरुको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाण्डौ लगिएको छ । फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए ।
घाइतेमध्ये ३ जनाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता विवेक बस्नेतले जानकारी दिए ।
उनका अनुसार ४ जनामध्ये एक जना भने डिस्चार्ज भएका भएका छन् । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका थिए । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो । मंगल लावतीको अवस्था सामान्य रहेकाले डिस्चार्ज भएका हुन् ।
झडपमा परेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० जना घाइते भएका तर अवस्था समान्य रहेको प्रहरी निरिक्षक बस्नेतले बताए । मुकुम्लुङ बचाउ संघर्ष समितिले केबलकार निर्माणको विरोधमा आजदेखि आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै हिजो नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।



