बुधबार भारतमा रेलले किच्दा सुदूरपश्चिमका पाँचसहित सात नेपालीको मृत्यु भएको जनाइएको छ ।

भारतको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा रेलले किचेर अछामका चार, कैलालीका एक र दुई जनाको ठेगाना नखुलेको जनाइएको छ । ज्यान गुमाउनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा, छोरा हिमु तथा कमलबजार नगरपालिका-४ चाल्साकी ६० वर्षीया जयकला कामी रहेका छन् । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारीको समेत ज्यान गएको छ ।
यस्तै, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासीको पनि ज्यान गएको छ । अछामको मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको भने उपचार भइरहेको छ ।
महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधवार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए ।
पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पाङ्ग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । सोही क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो । ज्यान गुमाउने १२ जनामा सात नेपाली पुगेका हुन् ।



