लघुवित्तको कारोबार गर्ने वित्तीय संस्थाहरूले ठगी गरेको भन्दै नेपाल राष्ट्र बैङ्क कैलाली शाखा घेराउ गरिएको छ । कैलाली र कञ्चनपुरबाट आएका प्रदर्शनकारीहरूले मङ्गलवार बैङ्कको गेटमा घण्टौँ सम्म धर्ना दिएका हुन । लघुवित्त पीडितहरूले केही समय अघि काठमाण्डौ पुगेर चर्को आन्दोलन गरेका थिए ।
“हामीले काठमाण्डौमा आन्दोलन गर्दा तपाईँका कुराहरू सुन्छौ । समस्या समाधान गर्छौ भनेर मङ्सिर ५ गते हामीलाई काठमाडौँ बोलाइयो । वार्ताका लागी हामीहरू पनि गयौ । मन्त्री देखी लघुवित्तका सिइओ सम्म अरू सबै जना आउनु भयो तर राष्ट्र बैङ्कका गभर्नर आउनु भएन र वार्ता सफल भएन । त्यसैले आज हामी राष्ट्र बैङ्क घेर्न आएका हौ ।” नाराबाजी गरिरहेकी शुकमाया मोक्तानले भनिन ।
लघुवित्त संस्थाहरू खारेज गरी सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने लघुवित्त ऋणी तथा पीडितहरूको माग छ । आफूहरूले ऋण माग गर्दा १० देखी १५ प्रतिशत रकम कटौती गर्ने र कटौती रकमको समेत व्याज तिर्नु पर्ने बाध्यता रहेको पीडितहरूको दुखेसो छ ।
हामीले सरकार सँग ऋण माफीको कुरै गरेका छैनौ । लघुवित्त पीडित मणिप्रसाद चौलाईले भने,… “हामीले १ लाख ऋण माग ग¥यो भने ८५ हजार दिन्छन् तर ब्याज चाहिँ १ लाख कै लिन्छन् । अनि त्यो मिटर ब्याज भएन ? हामीबाट अवैध रूपमा लिइएको १० देखी १५ प्रतिशतको हिसाब चाहियो भन्ने हाम्रो माग हो । लघुवित्तको अवैध असुलीमा राष्ट्र बैङ्क यसरी मौन बस्न मिल्छ ? छानबिन गर्नु पर्दैन ?”
पीडितहरूका अनुसार लघुवित्तले व्यक्तिगत बचत नदिने, नियमित किस्ता बुझाउन नसक्नेलाई दुर्व्यवहार गर्ने तथा सामाजिक शोषण गर्ने सँगै एउटै व्यक्तिलाई धेरै समूहमा राखेर ऋणको भारी बोकाउँदै घरबार विहीन बनाउने गरेको समेत उनीहरूको भनाई छ ।
देशभरिमा कार्यरत ५७ वटा लघुवित्त संस्थाहरू मध्ये सुदूरपश्चिममा ३७ वटा संस्थाहरूले ४ सय ७२ शाखा मार्फत कामकाज गर्दै आएका छन् ।
प्रकाशित :- २०८० मंसिर २७, गते बुधबार