बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा आज सुरू भएको छ । लामिछानेका तर्फबाट बहस गर्न काठमाण्डौबाट गएकासहित १२ जनाभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरेका छन् ।

त्यसैगरी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् । थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । बयानका लागि मङ्गलवार भैरहवा पुगेका लामिछाने बुधबार कार्यालय खुल्ने बित्तिकै अदालतमा उपस्थित भएका थिए ।
लामिछानेको रूपन्देही जिल्ला अदालतमा हिजै बयान सकिएको थियो । बयान सकिएसँगै आज पुनः उपस्थित गराउने शर्तमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई पत्नी निकिता पौडेल र उनका कानुन व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो ।
लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारीको रकम ठगी र सङ्गठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालयले गएको आइतवार मुद्दा दायर गरेको थियो ।



