कैलालीको चौमाला-खैराला सडकको ९ सय मिटरमा कालोपत्र हुँदैछ । गौरीगंगा नगरपालिका-१ चौमाला बजार क्षेत्रको एक मिटर सडक कालोपत्रको काम फागुनमा पूरा हुने भएको हो ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले गत आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता गरेको सडकको काम तीव्र पारेको छ । निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारहरूको काम सकेकाले फागुन भित्रमा कालोपत्रेको काम पूरा हुने दाबी गरिएको छ । सडक डिभिजन कार्यालय, महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले चौमालामा ९ सय मिटर सडक निर्माणको ५० प्रतिशत काम सकिएको बताए । उनले भने, ‘चौमालामा ९ सय मिटर हो । १ करोड ९५ लाखमा ठेक्का भएको हो । वैशाखमा सम्झौता भएको हो । समय छ तर, अबको एक÷दुई महिनामा काम सकिन्छ । ५० प्रतिशत पुगेको छ । तर, सब बेस र कालोपत्र भएपछि प्रगति ह्वात्तै हुन्छ ।’
चौमाला बजार क्षेत्रमा ९ सय मिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेका बेला ५ किलोमिटर सडक कालोपत्रका लागि थप बजेट माग गरिएको छ । चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालय, महेन्द्रनगरले १० करोड बजेट माग गरेको हो । सडक डिभिजन कार्यालय, महेन्द्रनगरले चुरे फेदीको ५ किलोमिटर कालोपत्रका लागि बजेट माग गरेको बताएको छ । तर, चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि बजेट छैन् । सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले चौमाला क्षेत्रको सडक कालोपत्रको काम जारी रहेको र चुरे फेदीको सडक कालोपत्रका लागि बजेट माग गरेको बताए । उनले भने, ‘हामीले प्रक्रिया सुरु गरेका छौं । १० करोड थप बजेट माग गरेका छौं । नयाँ ठेक्काका लागि बजेट माग गरेका हौं । १० करोड बजेट आयो भने, पाँच किलोमिटरका लागि पुग्छ । चालु आर्थिक वर्षमा पुराना ठेक्काको भुक्तानीका लागि मात्र बजेट छ ।’
चौमाला बजारदेखि खैराला जोड्ने सडकको २०६४ चैत्र २८ गते यातायात मन्त्री हुँदा लेखराज भट्टले शिलान्यास गरेका थिए । नेकपा एमालेका सचिव भट्टले चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्ष पूरा भएको छ । तर, चौमाला–खैराला सडकमा यातायात सञ्चालनमासमेत समस्या रहेको छ । चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धिका लागि समेत बजेटको अभाव रहेको हो । चालु आर्थिक वर्षमा नयाँ ठेक्का तथा स्तरवृद्धिका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छैन् ।
कैलालीको गौरीगंगा नगरापालिका–१ चौमाला बजारदेखि २४ किलोमिटरको दुरीमा गर्भादरबार छ । तर, चुरे गाउँपालिका–४ को वडा कार्यालय रहेको गर्भादरबारसम्म जान समेत सडक पूर्वाधारको समस्या रहेको छ । चौमाला–खैराला सडकको कटौजे क्षेत्रको भिरमा सवारी सञ्चालनमा समस्या छ ।
कटौजे क्षेत्रमा बर्सातको समयमा सवारी सञ्चालनमा समस्या छ । वर्षातको पानीले सडक बगाउने समस्या रहेको हो । तर, चुरे क्षेत्रको सडक कालोपत्र र स्तरवृद्धिका लागि योजना छैन् । प्रत्येक वर्ष चुरे गाउँपालिकाको बजेटले सडक मर्मत गर्ने काम हुँदै आएको छ ।

सुगम जिल्ला कैलालीको दुर्गम गाउँपालिका चुरे–२ र ४ का जनताको सुविधाका लागि चौमाला–खैराला सडक निर्माण थालिएको हो ।-दिनेस खबर


