
काठमाण्डौकाे स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा आइतबार बहस नसिकएपछि जिल्ला अदालत काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाण्डौमा लामिछानेको बयान भएको थियो । लामिछानेलगायत ३९ जनाविरुद्ध सो सहकारीको रकम अपचलन मुद्दा जिल्ला अदालतमा दायर भएको छ । लामिछानेलाई कास्की जिल्ला अदालतले शुक्रबार ६५ लाख धरौटीमा रिहा गरेपछि उनी आइतबार काठमाण्डौ अदालतमा हाजिर भएका थिए । उनी हाजिर भए लगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयानसमेत भएको थियो। बयान सकिएपछि आइतबारै थुनछेक बहससमेत सुरु भएको छ ।
थुनछेक बहसमा पहिला सरकारी वकिलको कार्यालयको तर्फबाट बहस हुनेछ । त्यसपछि लामिछानेका कानुन व्यवसायी तथा जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन् ।
यसअघि कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेसँग जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी मागेको थियो । काठमाण्डौ जिल्ला अदालतबाट कस्तो आदेश आउँछ भन्ने चासो छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।
काठमाण्डौमा थुनछेक बहसमा आदेश आएपछि लामिछाने जिल्ला अदालत रुपन्देही हाजिर हुनुपर्नेछ । त्यहाँ प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाइसकेको छ । सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन भने गरिसकेको छैन । लामिछानेलाई त्यसपछि चितवन र पर्सामा पनि मुद्दा दायर हुने अवस्था छ ।
